FAQs Complain Problems

संक्षिप्त परिचय

नयाँ नेपालको नयाँ संरचना बन्नु पुर्व मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कर्णाली अञ्चलको पाँच हिमाली जिल्लाहरु मध्येको एक जुम्ला जिल्लाका दक्षिण पश्चिम क्षेत्रका साविकका चार गाउँ विकास समितिहरु रारालिही, कुडारी, घोडेमहादेव र मालिकाठाँटाको संयोजन भई हाल ६ नं. प्रदेश अन्तर्गतका स्थानीय तहहरु मध्ये तिला गाउँपालिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम गठित एक स्थानीय तह हो । भौगोलिक रुपमा बिकट र दुर्गम भए तापनि तिला गाउँपालिकाको भौगोलिक, व्यावसायिक, वातावरणीय, धार्मिक, ऐतिहासिक, पर्यटकीय लगायतका विभिन्न बहुआयामिक पक्षहरुबाट महत्वपूर्व पहिचान रहेको छ ।सदावहार शान्त रुपमा प्रवाह भई रहने तिला नदिको नामबाट यस गाउँपालिकाको नाम "तिला" रहन गएको हो । नेपालको जनगणना २०७८ अनुसार १४५३९ जनसंख्या रहेको यस गाउँपालिकाका मुख्य उत्पादनको रूपमा आलु, सिमि, फापर, कोदो रहेका छन् भने उच्च हिमाली भू-भागमा अति मुल्यवान र महत्वपुर्ण जडिवुटी जस्तै पदमचाल, कटुकी, यार्सागुम्वा आदि पाइन्छ।

  • तिला गाउँपालिकाको राजनैतिक विभाजन

प्रदेश                                : ६ नं.

जिल्ला                              : जुम्ला

गाउँ कार्यपालिकाको कार्यालय  : डुण्डेली, रारालिही

वडा सङ्ख्या                          : ९

  •  भौगोलिक अवस्था तथा सिमाना

क्षेत्रफल                        : १७५.४९ वर्ग कि.मी.

पूर्व                               : तातोपानी गाउँपालिका

पश्चिम                          : कालिकोट जिल्ला

उत्तर                              : हिमा गाउँपालिका

दक्षिण                              : कालिकोट जिल्ला

 

  •  प्रमुख नदीनाला, पोखरी र विशेष क्षेत्र

यस गाउँपालिका क्षेत्रमा पर्ने सबैभन्दा ठूलो तिला नदि कालिकोटको सिमानामा पुगि हिमा गाउँपालिकाबाट प्रवाह भई आउने.....नदि सँग मिसिन पुग्दछ ।घोडेपोखरी यस गाउँपालिकाको दक्षिणमा पर्दछ ।

  •  धर्म, सस्कृति र जातजाती                                                       

यस गाउँपालिका क्षेत्रमा हिन्दु, बौद्ध र ईसाई धर्मालम्वीहरुको बसोवास रहेको छ । यस क्षेत्रमा दशैं, तिहार, साउने संक्रान्ति, माघे संक्रान्ति, ल्होसार, क्रिसमस लगायतका पर्वहरु मनाउने गर्दछन् । यस क्षेत्रमा व्राह्मण, क्षेत्री, दलित लगायतका जातजातिहरुको मिश्रित बसोबास रहेको छ ।

  • विद्यमानअवस्थाकोसमिक्षा
  • सबल पक्ष

तिला गाउँपालिकाजुम्ला जिल्ला भरिकै एक आर्थिक समृद्धिको सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा रहेका वन पैदावरलाई सदुपयोग गरी जडिबुटी प्रशोधन केन्द्र सञ्‍चालन गर्न सक्ने सम्भावनाहरु प्रशस्त मात्रामा रहेका छन् । पाटन क्षेत्र, त्रिवेणी, बाइसथाप्ला, दहचौर रारा पाताल आदि यस क्षेत्रको अथाह पर्यटनका सम्भावना बोकेका क्षेत्र हुन्।सदावहार रुपमा बगिरहने "तिला नदि" बाट मेगा हाइड्रो प्रोजेक्ट संचालन गरी यस क्षेत्रको आय आर्जनमा वृद्वि गर्न सकिन्छ ।यस क्षेत्रमा मौसमी खेतीको रुपमा सिमी, आलु, मकै, कोदो, फापर, जौ, चिनो, कागुनो, गहुँ, भटमास, धान, मसुरो, तोरी लगायतका तेलहन, दलहन, खाद्यान्‍न तथा नगदे बालीको पर्याप्त मात्रामा उत्पादन गरी निर्वाहमुखीबाट व्यवसायिक कृषितर्फ उन्मुख हुन सकिने अवस्था रहेको छ । यस क्षेत्रमा व्राह्मण, क्षेत्री र दलित जातिको मिश्रित बसोबास रहेकाले यस क्षेत्र बहुभाषिक, बहुसाँस्कृतिक, बहुजातीय बिशेषताले भरिएको छ । धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव यस क्षेत्रको अभिन्‍न चिनारी रहेको छ ।

  • कमजोर   पक्ष

भौगोलिक विकटताका कारण यस क्षेत्रमा यातायातको सञ्‍जाल विस्तार गर्न सकिएको छैन ।तिला नदिमा एक पक्की पुलको अभावमा साविकका घोडेमहादेव र मालिकाठाँटा गाविस सडक संजालले जोडिन सकेको छैन । विकासका पूर्वाधारहरुको यथेष्ट मात्रामा विकास र विस्तार गर्न सकिएको छैन । शैक्षिक अवस्थामा राष्ट्रिय स्तरभन्दा न्यून रहेको छ । विद्यालय छाड्ने, अनुपस्थित हुने र कक्षा दोहोर्‍याउने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाहरुको गुणस्तर वृद्धि गर्न नसकिएका कारण प्रभावकारी स्वास्थ्य सेवाको प्रत्याभूत गर्न सकिएको छैन भने अर्को तर्फ पर्याप्त स्रोत साधन, आर्थिक अभाव, गरिवि, भौगोलिक विकटताको कारणले कतिपय विरामी, सुत्केरीको समयमै अस्पताल पुर्याउन नसकिएर अकालमै ज्यान गुमाउनु पर्ने अवस्था रहेको छ ।

  •   अवसर

तिला गाउँपालिकाको त्रिवेणी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको छ । घोडेपोखरी, बाईसथाप्ला, माथिल्लो रारामा ट्रेकिङ रुटको विकास गरी"होमस्टे" संचालन गरी अर्थोपार्जन गर्न सकिन्छ । यसैगरी यस क्षेत्रमा पाईने वनपैदावर तथा कृषि उत्पादनलाई व्यवसायिकता तर्फ उन्मुख गराउन सकिने सम्भावना कायम रहेको छ ।तिला नदिमा हाइड्रोपावर संचालन गरी सम्पुर्ण जुम्ला जिल्लालाई उज्यालो बनाउन सकिन्छ । रारालिहीमा गोधुलीको दृश्य अवलोकन गर्न सकिने "भ्यु टावर" संचालन गर्न सकिन्छ ।

  •  चूनौती

दुई दशकपछि तिला गाउँपालिकाले जनप्रतिनिधि विहीन अवस्था पार गरेको छ । यससँगै अनगिन्ती परिवर्तनका संवाहकहरुको उदय हुनु स्वाभाविक रहेको छ । तथापि विगतमा जनप्रतिनिधिविहीन राज्य संयन्त्रले सिर्जना गरेका सर्वसाधारण र जनतावीचको दुरी कम गर्नमा अबको उर्जाशील समयवधि खर्च गर्नुपर्ने अवस्था रहेको छ । यसै वीच राज्यको शासन व्यवस्थामा संघीयताको नयाँ अभ्यास स्थानीय सरकारको काँधमा आईसकेकाले स्थानीय तहको सफल कार्यान्वयन गर्ने युगान्तकारी जिम्मेवारीलाई सफलतापूर्वक अवतरण गर्ने दायित्व थपिएको छ । विविध कारणबाट राज्यको मुलप्रवाहीकरणबाट वञ्‍चित भएका समूहलाई गतिशील शासन पद्दतिमा समाहित गर्दै लैजानुपर्ने जिम्मेवारीहरु युगले प्रदान गरेको छ । गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य, यातायातको पहुँच, आर्थिक विकास, दीगो आवास, खाद्य सुरक्षा, गुणस्तरीय जीवनको प्रत्याभूत गर्न कटिबद्ध भई लाग्नुपर्ने भएको छ । नेपाल सरकारले अन्तरार्ष्ट्रिय जगतमा जनाएका प्रतिवद्धताहरु पुरा गर्न दिगो विकासका लक्ष्यहरुको प्राप्ति, मानव विकास सूचकांकमा उल्लेख्य सुधार गर्नुपर्ने अवस्था रहेको छ । सुशासनको प्रत्याभूत गराई जनस्तरमा राज्यको उपस्थितिको वोध गराउँदै राज्य र राष्ट्र निर्माणलाई सुदृढ बनाउँदै लैजानुपर्ने अवस्था विद्यमान रहेको छ ।